तालमा फसेका चार जनाको सकुशल उद्धार एकजना मृत भेटिए

HTV Khabar २७ असार २०८१, बुधवार ०४:४० मा प्रकाशित

काठमाडौं,  कास्कीको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुवेर फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

गुल्मी जिल्ला घर भई हाल पोखरा बस्दै आएका ५४ बर्षीय रामबहादुर अधिकारी, ३९ बर्षिया सृजना अधिकारी, ६ बर्षिय आयुष अधिकारी र ४ बर्षिया आयुष्का अधिकारी वर्षाको कारण पानीको सतह बढेर घर पस्दा फसेका थिए।

सो घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो।

यस्तै, सोही महानगरपालिकास्थित सहेलापाटा निवासी बर्ष ५१ का मन बहादुर थापाको जस्ताले छाएको १ तले कच्ची घर पहिरोले पुरिदा निजको छोरा २२ बर्षिय भिम बहादुर थापा वेपत्ता भएका थिए।

उनको नेपाली सेना, सशस्त्र प्रहरी बल नं. २४ कालिका गण र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा विहान ७ बजे मृत अवस्थामा फेला पारेको हो।