दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अनुमति

HTV Khabar १५ अशोज २०८३, बिहीबार ०८:३६ मा प्रकाशित

काठमाडौं, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। विहीवार काठमाडौं जिल्ला अदालतले साइबर ब्युरोलाई थप एक दिन अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रसाईले केही समयअघि जेनजी सहिदकी आमासमेत रहेकी रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खड्कालाई लक्षित गर्दै ‘छोराको लासमा टेकेर सांसद बनेको’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त विषय रचना खड्काले संसद्मा समेत उठाएकी थिइन्।

प्रसाईंले सामाजिक सञ्जालमार्फत शहीद रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोपमा खतिवडाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा साइबर ब्युरोको टोलीले अनुसन्धानका लागि सोमवार बिहान प्रसाईंलाई पक्राउ गरेको थियो।

त्यसपछि प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि विहीवार काठमाडौं जिल्ला अदालतले साइबर ब्युरोलाई थप एक दिन अनुसन्धान गर्न अनुमति दिएको हो।

यता पक्राउ प्रसाईंकी श्रीमती उमा प्रसाईले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटी, काठमाडौं समेतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी छन्। बुधवार उक्त बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ४८ घण्टाभित्रमा लिखित जवाफ बुझाउन भनेको छ।