काठमाडौं, गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन्।
कम्युटर अपरेटरको रुपमा २०७५ सालदेखि मन्त्रालयमा कार्यरत विष्टले गृहमन्त्री रवि लामिछाने उहाँको सचिवालय तथा गृहसचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ भन्दै असार २१ गते थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई दबाब दिएका थिए।
प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको धन्दा सार्वजनिक भएको थियो। गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले असार २५ गते विष्टलाई सेवाबाट हटाउनुभएको थियो।
रोजगारी गुमेपछि थमौतीका लागि गुहार्न पुगेका विष्टलाई गृहमन्त्रीले मन्त्रालयबाटै पक्राउ गर्न लगाएका हुन्। भिजिट भिसामा गैरकानुनीरुपमा मान्छे पठाउने काम गरिरहेको आशंकामा थप अनुसन्धानका लागि विष्टलाई प्रहरीको जिम्मा लगाइएको छ। विष्टलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो।