रामेछापबाट तस्करी गरेर सुनसरी पुर्‍याइएको ४ ट्रक खयर बरामद

HTV Khabar ४ श्रावण २०८१, शुक्रबार ०६:१२ मा प्रकाशित

काठमाडौं,  रामेछापबाट सिन्धुली हुँदै चार ट्रक खयर तस्करी गरेर सुनसरी ल्याइएको खुलेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार सम्बन्धित जिल्लाबाट ट्रकलाई छोडपुर्जी दिँदा परिमाणमा कैफियत पाइएपछि अनुसन्धान थालिएको थियो।

खयरको काठ धरानमा रहेको सूर्य कत्था उद्योगको नाममा काठ लोड गरी ल्याइएको थियो। छानबिनका क्रममा अवैध काठ धेरै भेटिएको बताउँदै प्रजिअ तिवारीले टाँचा लगाएको भन्दा ठूलो संख्यामा काठका मुडा भेटिनुले संगठित मिलेमतोको सम्भावना बताए।

सुनसरी प्रशासनका अनुसार नियन्त्रणमा लिइएका ट्रकको हकमा वन कार्यालय रामेछापले १५ सय लकडीमा टाँचा लगाइएको भनी छोडपुर्जी दिइएको थियो। अनुसन्धानको क्रममा गणना गर्दा भने २ हजार ७ सय ३३ वटा भेटिएको थियो।

उक्त परिमाणका काठ बा.प्र. ०१००६ ख २१११, बा.प्र. ०१००६ ख ३३४९, म.प्र. ०३००२ ख ००९५ र क.प्र. ०२००१ ख ०४१९ नम्बरका ट्रकमा रामेछापबाट लोड गरी सुनसरी ल्याइएको हो। काठ तस्करीमा सुरक्षा निकायदेखि वन कार्यालयसम्मकै संलग्नता रहेको आशंका छ।

स्रोतका अनुसार खयर काठ बोकेका ट्रक इनरुवा आइपुगेपछि प्रशासनले रोक्न भनेको थियो। यद्यपि धरान पुगेपछि मात्रै प्रशासनलाई खबर दिइएको थियो।