काठमाडौं, नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ। हिजो शुक्रवार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदीमा थप दुई जना पुरुषको शव भेटिएको हो। एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको थियो।
एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्री वस्त्रमात्रै बाँकी भएको अवस्थामा भेटिएको छ। अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको छ।
चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार नवलपुरतर्फका प्रहरीले नदी तटीय क्षेत्रमा खोजी कार्य गरिरहँदा दुई शव भेटिएको हो। एउटा शवको सनाखत भएपनि अर्को शवको सनाखत नभएकाले बसमा सवार यात्रु हो होइन यकिन भने भइसकेको छैन।
यसअघि चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको थियो ।