वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगीगर्ने कडरिया र खड्का पक्राउ

HTV Khabar २२ असार २०८१, शुक्रबार ०५:४४ मा प्रकाशित

काठमाडौं,  बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम लिएर सम्पर्कविहीन भएको उनीहरूमाथि आरोप छ। पक्राउ पर्नेमा ताप्लेजुङ घर भएका ३३ वर्षीय जीवन कडरिया र रामेछाप घर भएका ४६ वर्षीय चुडाबहादुर खड्का रहेका छन्।

उनीहरूको ठगीबारे वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो। जीवन कडरियाले एक जना पीडितसँग क्यानडा पठाइदिने भन्दै ४ लाख २० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको मैतीदेवीबाट पक्राउ गरेको हो। त्यस्तै, चुडाबहादुर खड्काले तीन जना पीडितलाई दक्षिण कोरिया पठाइदिन्छु भनेर १७ लाख रुपैयाँ उठाएर फरार भएका थिए।

उनलाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरीको भनाई छ। दुवैलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।