‘प्रहरी हुँ’ भन्दै धम्की दिएर रकम माग्ने क्षेत्री पक्राउ

HTV Khabar ८ श्रावण २०८१, मङ्गलबार ०८:५१ मा प्रकाशित

काठमाडौं,  ‘आफू प्रहरी हुँ’ भन्दै धम्की दिएर रकम माग्ने कास्कीका युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका -१६ बाटुलेचौरका २१ वर्षीय सुजित क्षेत्री रहेका छन्।

‘ह्वाट्सएप’ तथा ‘टेलिग्राम’ बाट सम्पर्क गरी विभिन्न व्यक्तिलाई आफू जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी रहेको र कोही कसैको काम परे गरिदिने भन्दै उनले रकम माग्ने गरेको आरोप छ।

आम सर्वसाधारणसँग रकम माग गर्ने गरेको सूचना थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई कास्कीकै लामाचौरबाट पक्राउ गरेको हो।

पक्राउ परेका सुजितका विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।