भिजिट भिसामा दुबईहुँदै कुवेत लगेर महिलामाथि यौन शोषण गर्ने कृष्ण पक्राउ

HTV Khabar ३ श्रावण २०८१, बिहीबार ०१:४६ मा प्रकाशित

काठमाडौं,  भिजिट भिसामा कुवेत लगेर मानव बेचविखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारी रहेका छन्। उनले एक महिलालाई दुबईको कम्पनीमा काम लगाइदिने भन्दै विश्वास दिलाएका थिए।अधिकारीले त्यहाँ रहेका अर्का व्यक्तिसँग मिलेमतो गरी मासिक ४० हजार तलब हुने भन्दै महिलाको अन्तरवार्तासमेत लिएका थिए।

लागत खर्च भनी अधिकारीले महिलाबाट दुई लाख नगद लिएका थिए। अधिकारीले सुरूमा भिजिट भिसामा महिलालाई २०७९ जेठ १६ गते दुबई पुर्‍याएका थिए।

दुबईमा पुगेपछि अर्का व्यक्तिको जिम्मा लगाएका थिए। ब्यूरोका अनुसार ती व्यक्तिले आफू बस्ने फ्ल्याटमा महिलालाई पुर्‍याए।

उनले ती महिलालाई घरेलु काममा लगाएर चरम यौनशोषण गरी गर्भपतनसमेत गराएको खुलेको छ। त्यसपछि ती व्यक्तिले दुबईमा भन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिस क्लिनर हो भन्दै २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याएर अर्का एजेन्टको जिम्मा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

त्यहाँ पुगेपछि ती एजेन्टले बन्धक बनाएर चरम यौन शोषण गरेको उजुरीमा उल्लेख गरिएको छ। आफूमाथि शोषण सहन नसकेर ती महिलाले एजेन्टलाई नेपाल फर्काइदिन अनुरोध गरेकी थिईन् ।

रकम बुझाउन भनेपछि उनले आफन्तमार्फत् ६ लाख ७५ हजार रुपैयाँ तिरेपछि ती एजेन्टले मुक्त गरिदिएका थिए।

ब्यूरोका अनुसार त्यसपछि ती महिला २०८० मंसिर ३ गते नेपाल फर्केर ब्युरोमा जाहेरी दिएकी थिइन्। अधिकारीलाई खोजी गरिरहेको प्रहरीले बुधबार पक्राउ गरी अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको छ।