राष्ट्रपति कार्यालयबाट दुई थान हात्तीका दाह्रा चोरी, काटेर भागबन्डा लगाउने ६ जना पक्राउ

HTV Khabar १९ जेठ २०८३, बुधवार ०६:४३ मा प्रकाशित

काठमाडौं, जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी गरिएका दुई थान हात्तीका दाह्रासहित ६ जना पक्राउ परेका छन्।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा २४ सै घण्टा सेनाको सुरक्षामा रहने राष्ट्रपति कार्यालय पनि प्रदर्शनकारीको निशानामा परेको थियो। 

त्यतिक्रममा प्रदर्शनकारीले राष्ट्रपति निवासमा आगजनी गर्नुका साथै राष्ट्रपति बस्ने कुर्सीदेखि, भित्तामा सजाइएका सामग्राीहरु समेत जलाउने र तोडफोड गर्ने काम भएका थिए। यसैको मौका छोपेर केही प्रदर्शनकारीहरुले राष्ट्रपति भवनका भित्तामा राखिएका दुई थान हात्तीका दाह्रा समेत चोरी गरेका थिए।

करिब ९ महिनापछि उक्त चोरी भएका हात्तीका दाह्रासहित ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बसपार्क तथा मनमैजु क्षेत्रबाट पक्राउ गरेको हो। मंगलवार राति अपरेसन चलाएर पक्राउ गरिएका ६ जनाको नाम भने गोप्य राखिएको छ।

पक्राउ परेका व्यक्तिहरुले राष्ट्रपति कार्यालयबाट चोरी गरेर लगेका दाह्रा काटेर भाग लगाएर आ-आफ्ना घरमा सजाएर राखेको समेत पाइएको छ। अपराध अनुसन्धान कार्यालयका अनुसार चोरीमा संलग्नहरूलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जनाएको छ।