काठमाडौं, काठमाडौं जिल्ला अदालतबाट पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका आपराधिक पृष्ठभूमिका अभिषेक गिरीलाई मोरङ प्रहरीले छुटेलगत्तै पुनः पक्राउ गरेको छ।
ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि विहीवार गिरी धरौटी बुझाएर छुटेका थिए। तर रिहाइ भएको केही समयमै मोरङ प्रहरीले उनलाई पक्राउ गरी विराटनगर ल्याएको हो।
मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय गिरीविरुद्ध आपराधिक लाभ (क्रिमिनल बेनिफिट)सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। निर्माण व्यवसायी सुभाष श्रेष्ठले रकम असुल गरेको आरोप लगाउँदै गिरीविरुद्ध किटानी जाहेरी दिएका थिए।
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गिरीलाई गत असार २३ गते विराटनगरबाट ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पक्राउ गरेको थियो।
त्यसभन्दा अघि उनी मोरङ कारागारका कैदीबन्दीको भत्ता दुरुपयोग गरेको आरोपमा असार १३ गते पक्राउ परेका थिए। उक्त मुद्दामा जिल्ला अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि सीआईबीले पुनः नियन्त्रणमा लिएको थियो।
सीआईबीको अनुसन्धानले गिरीले २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको निष्कर्ष निकालेपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साउन १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।