काठमाडौं, आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जनलाई नुवाकोट अदालतले साधारण तारेखमा रिहा गरेको छ।
महिला बेपत्ता बनाएको मुद्दामा नुवाकोट प्रहरीले १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको माग दाबीसहित मुद्दा दायर गरेको थियो।
तर उनलाई थुनछेक बहसपछि जिल्ला न्यायाधीश सुभाषवावु पुरीको इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो। उनलाई छुट्टै मुद्दा दायरका लागि कडा सुरक्षाको साथ सिन्धुपाल्चोक लगिएको छ।
सोही मुद्दाका सम्वन्धमा अनुसन्धान गर्न बम्जनलाई ढुंगेस्थित नुवाकोट जिल्ला कारागारमा तीन सातासम्म राखिएको थियो। गत २०६९ सालमा नुवाकोटको म्यागङ गाउँपालिका–३ की २० वर्षीया एक महिलालाई आश्रमबाटै बेपत्ता बनाएको उजुरीमाथि प्रहरीले बम्जनमाथि मुद्दा दायर गरेको थियो।
तपस्वी बम्जनलाई सर्लाही जिल्ला अदालतले बाल यौन दुराचार मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।