काठमाडौं, प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू भएको छ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा तुलसीको बिरुवा सारिन्छ। आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ।
सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ।
एक वर्षमा २४ एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्।