काठमाडौं, रेस्टुरेन्ट व्यवसायी मनोज बानियाँमाथि खुँडा प्रहार गर्ने समूहका अर्का आरोपित विभाग गुरुङ पक्राउ परेका छन्।
धरानका गुरुङलाई उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले मंगलबार चाबहिलबाट नियन्त्रणमा लिएको हो। प्रहरीले यसअघि बानियाँमाथि खुँडा प्रहार गर्ने मुख्य आरोपित धनकुटाका दीपक बान्तवा राईलाई पक्राउ गरेको थियो। त्यसको दुई दिनपछि गुरुङलाई समातिएको हो।
गुरुङसहित खुँडा प्रहार गर्ने घटनामा संलग्न ६ जना पक्राउ परेका हुन्। चुनिखेलमा बानियाँको निर्माणाधीन रिसोर्टमा असार ७ गते ज्यान मार्ने उद्देश्यले उनीमाथि खुँडा प्रहार गरिएको थियो। खुँडा प्रहारबाट बानियाँ घाइते भएका थिए ।
नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारपछि उनी ‘डिस्चार्ज’ भएका छन्। उनको बायाँ हात र खुट्टा तथा तीघ्रामा गहिरो चोट लागेको थियो। भैँसेपाटीस्थित गोकुल आवासका राजेश केसीको योजनामा उनीमाथि खुँडा प्रहार गरिएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ।
केसीसहित उनका सहयोगी सुरेन्द्र महर्जन, आयुमान अधिकारी र आलिंकन लामिछानेलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो। घटनामा संलग्न स्नोप भण्डारीसहित तीनजना अझै फरार छन्।
केसी र बानियाँले जग्गासम्बन्धी कारोबार गर्दै आएका थिए। उनीहरूबीच जग्गाकै विषयमा कुरा नमिलेपछि बान्तवासहितका युवालाई ‘सुपारी’ दिएर खुँडा प्रहार गरिएको खुलेको छ। प्रहरीका अनुसार, पक्राउ परेका महर्जन र बान्तवा यसअघि पनि जेल परेका थिए।
महर्जन प्रहरीको हत्या गरेको अभियोगमा १० वर्ष र राई लागुऔषध मुद्दामा जेल बसेको खुलेको छ। यस्तै, मंगलवार पक्राउ परेका गुरुङ समेत किर्ते मुद्दाका फरार आरोपित रहेको खुलेको छ। आपराधिक समूहले नै बानियाँमाथि खुँडा प्रहार गरेको थियो।