'अन टेस्ट' बाइकबाट नेपाली नक्कली नोटको ओसारपसार गर्ने एक पक्राउ

HTV Khabar ६ श्रावण २०८१, आइतबार ०५:१० मा प्रकाशित

काठमाडौं,  नक्कली नेपाली नोटसहित बारा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा सिम्रौनगढ नगरपालिका वडा नं. २ महुवाही बस्ने वर्ष ३५ का छठु गिरीलाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढले पक्राउ गरेको हो।

प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको टोलीले महुवाहीस्थित सडक खण्डमा महुवाहीबाट नयकाटोल तर्फ जाँदै गरेको 'अन टेस्ट' बाइकमा नक्कली नोट ओसार पसार भइरहेको फेला पारेको थियो।

गिरीको साथबाट नेपाली रु. १ हजार दरको पचासी हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। गिरीविरुद्ध खोटा मुद्रासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट दिन ८ म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले शुक्रवार जानकारी गराएको छ।