बाल मन्दिरको रकम हिनामिना प्रकरणमा तीन जना पक्राउ

HTV Khabar २४ असार २०८३, बिहीबार ०१:१९ मा प्रकाशित

काठमाडौं, बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा तीन जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो 'सीआईबी' ले बुधवार राति तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ, ५४ वर्षीया आशा श्रेष्ठ रहेका छन्। सीआईबीका अनुसार पक्राउ परेकाहरुलाई बुधवार राति दरबारमार्ग प्रहरी वृत्तमा राखिएको थियो। 

उनीहरुलाई थप अनुसन्धान गर्न म्याद थपका लागि आजै अदालतमा उपस्थित गराउने तयारी भइरहेको स्रोतले बतायो। बाल मन्दिरको बहुमूल्य सरकारी जग्गा लामो समयदेखि न्यून भाडादर, अनियमितता र दुरुपयोगको आरोपका कारण विवादमा रहँदै आएको थियो।

यसअघि उच्च अदालतका पूर्वमुख्यन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ मै प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा तीनै जनाविरुद्ध ठगीको कसुरमा मुद्दा चलाउने सीआईबीको तयारी छ।