काठमाडौं, आफैंले निलम्बन गरेको क्यासिनो फेरि फुकुवा गर्न पर्यटन विभागमा ठूलो चलखेल भएको छ। निलम्बित क्यासिनो फुकुवा गर्न पर्यटन विभागका महानिर्देशक रूद्र पण्डित र केही व्यवसायीहरू लागि परेका हुन्।
दरबारमार्ग स्थित होटल डेला अन्नपूर्णमा संचालित क्यासिनो प्यालेस विगत दुई महिनादेखि बन्द रहेको छ। होटल अन्नपूर्ण विगत चार बर्षदेखि बन्द रहेको छ। होटल नै बन्द रहेको अवस्थामा होटल परिसरमा रहेको क्यासिनो संचालन भइरहेको भन्दै पर्यटन विभागले गत दुई महिना अघि पत्र पठाउँदै क्यासिनो दर्ता निलम्बन भएको भन्दै बन्द गर्न आदेश दिएको थियो।
होटल अहिले बन्द अवस्थामा छ। तर बन्द रहेको होटलका संचालक मात्रै नभएर क्यासिनोका संचालकहरू समेत निलम्बन भएको क्यासिनो फुकुवा गराउन लागि परेका छन्। आफैंले बन्द गराउन पत्र काट्ने पर्यटन विभागका महानिर्देशक रूद्र पण्डित समेत क्यासिनो खुलाउन लागि परेको समाचार स्रोतले बतायो।
समाचार स्रोतका अनुसार क्यासिनो निलम्बन फुकुवा गराउन ठूलै रकमको चलखेल समेत भइरहेको छ। महानिर्देशक पण्डितलाई क्यासिनो र होटलका संचालकहरुले व्यापक दबाब समेत दिएर क्यासिनो खुलाउने अभियानमा लागेको समेत थाहा भएको छ।
होटल अन्नपूर्ण २०८१ सालसम्म मात्र नवीकरण रहेको छ। तर होटल भने चार बर्षदेखि बन्द छ। होटल बन्द भए पनि क्यासिनो भने निरन्तर चलिरहेको थियो। बन्द होटलमा क्यासिनो संचालन भएको भनी धेरै विवाद भएपछि पर्यटन विभागले क्यासिनोलाई निलम्बन गर्दै बन्द गर्न निर्देशन दिएको थियो।
अहिले सत्ता समीकरण नयाँ बनेसँगै होटल र क्यासिनोका संचालकहरू क्यासिनोको निलम्बन फुकुवा गर्न लागि परेका हुन्।