काठमाडौं, बालकुमारीस्थित एक छात्रावासमा खाद्य सामग्रीको गुणस्तर र सरसफाइ मापदण्ड विपरीत पाइएपछि प्रशासनले कारबाही गरेको छ।
अनुगमनका क्रममा खाद्य सामग्रीको गुणस्तर र सरसफाइमा समस्या देखिएपछि सम्बन्धित छात्रावासमाथि कारबाही गरिएको हो।
काठमाडौंको बालकुमारीस्थित ‘न्यु फेमिलि गर्ल्स होस्टेल’ मा वितरण गरिएको खानामा किरा भेटिएको तथा छात्रालाई धम्की दिइएको विषयमा सामाजिक सञ्जालमार्फत उजुरी गरिएको थियो।
सोही उजुरीका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले होस्टेलमा अनुगमन गर्दा सरसफाइको अवस्था कमजोर रहेको तथा खाद्य सामग्री अस्वस्थ अवस्थामा राखिएको पाइएको थियो।
अनुगमनका क्रममा भेटिएका कैफियतका आधारमा प्रचलित कानुनबमोजिम छात्रावास सञ्चालकलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। जरिवाना गर्नुका साथै होस्टेललाई सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।