एआईजीमा बढुवा नभई अवकाश पाएका पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश

HTV Khabar ८ श्रावण २०८१, मङ्गलबार ०५:३२ मा प्रकाशित

काठमाडौं, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएपछि नियुक्ति नपाई डीआईजीबाटै अवकाश पाएका पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

एआईजी बढुवामा सिफारिस हुँदा समेत नियुक्ति नदिएका कारण डीआईजीबाटै अवकाश भएको भन्दै पोखरेलले ६ साउनमा सर्वोच्च अदालत रिट निवेदन पेश गरेका थिए। तर सर्वोच्च अदालत प्रशासनले उनको रिट दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको थियो।

आफ्नो रिट दरपीठ भएपछि पोखरेलले दरपीठविरुद्ध अर्को निवेदन दिएका थिए। मंगलवार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पोखरेलको माग बमोजिम रिट निवेदन दर्ता गर्न आदेश दिएको हो। अब पोखरेलको रिट दर्ता हुनेछ।

१० असारमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।

सिफारिस अनुसार बढुवा भएको भए उनी २० र २१ असारमा दुई दिनका लागि एआईजी हुने थिए। तर यही बीचमा सत्ता साझेदार प्रमुख घटक एमालेले समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद् बैठकले पोखरेलको एआईजी बढुवामा कुनै निर्णय गरेन। त्यही कारण पोखरेल १९ असारदेखि अनिवार्य अवकाशमा गए।

बढुवा सिफारिसमा परे पनि बढुवा नगरेका कारण अवकाश हुनुपरेको भन्दै पोखरेल प्रधानमन्त्री कार्यालय समेतलाई प्रतिवादी बनाउँदै सर्वोच्च पुगेका थिए।