काठमाडौं, अविरल वर्षासँगै आएको बाढीले गुल्मीमा विद्युत परियोजनाको नहर बगाएको छ। मुसिकोट नगरपालिकाका – ७ र ८ मा रहेका लघु विद्युत परियोजनाका नहर बडिगाड खोलाले बगाएपछि त्यहाँका नागरिक एक सातादेखि अन्धकारमा बस्न बाध्य भएका छन्।
असार २१ गते परेको अविरल वर्षासँगै आएको बडिगाडको बाढीले परोपकार लघु जलविद्युत र दरमखोला लघु जलविद्युत नहर बगाएको परोपकार लघु जलविद्युत आयोजनाका पूर्वअध्यक्ष गोपिकृष्ण खरेलले बताए।
नहर बगाएर विद्युत अवरुद्ध हुँदा मुसिकोट नगरपालिकका वडानम्बर १, २,३,७, ८ का साथै बागलुङको बडिगाड गाउँपालिका वडानम्बर २, ५ र गलकोट नगरपालिकाको वडानम्बर ११ का गरी २५०० घरधुरी प्रभावित भएका छन्। परोपकार लघु जलविद्युत १३५ किलोवाट र दरमखोला लघु जलविद्युत ५० किलोवाट विद्युत उत्पादन हुँदै आएको थियो।
खोलाले नहर बगाएपछि नहर मर्मत गर्न केही महिना नै लाग्ने संस्थाले जनाएको छ। अहिले खोलामा पानीको बहाव धेरै भएकाले मर्मत गर्न समस्या रहेको खरेलले बताए। त्यस स्थानमा राष्ट्रिय प्रसारण लाइन पनि पुगेको छ।
तर उक्त विद्युतको ट्रान्स्फर्मर क्षमता कमजोर हुँदा मोबाइल चार्ज गर्ने बाहेक अन्य कामहरु नहुने गरेको खरेलको भनाइ छ। विद्युत नहर मर्मत गर्न लामो समय लाग्ने भएपछि त्यस क्षेत्रका नागरिक लामो समयसम्म अन्धकारमा बस्न बाध्य हुनुपर्ने भएको छ।