त्रिशूलीमा बेपत्ता गणपति डिलक्स बसका चालक र सहचालकको शव भेटियो

HTV Khabar २ श्रावण २०८१, बुधवार ०९:२७ मा प्रकाशित

काठमाडौं, नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन्।

उनीहरु दुवैको शव नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको थियो। जुन घटनास्थलभन्दा १०३ किलोमिटर पर हो। जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने ९ वटा शवको मात्र सनाखत भएको छ। ८ शवको सनाखत हुन बाँकी छ। भेटिएका शवहरुमध्ये १५ जना पुरुष र २ महिलाका छन्। सनाखत भएकामा ६ जना नेपाली र ३ जना भारतीय छन्।

१७ मध्ये १४ वटा शव पूर्वी नवलपरासीको नारायणी नदीको तटीय क्षेत्रमा भेटिएका हुन्। असार ३१ गते भेटिएका ५ र साउन १ गते भेटिएका ३ शवको सनाखत हुन बाँकी छ। अझै ४५ यात्रुको अवस्था अज्ञात छ।

६ दिन अगाडि त्रिशूली नदीमा खसेका दुईवटा बसको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीका तालिमप्राप्त सुरक्षाकर्मीहरुले विभिन्न प्रविधिको प्रयोग गरेर खोेजी गरे पनि अहिलेसम्म बस भेटाउन सकिएको छैन।

यात्रु तथा बसको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी गरी झण्डै ५ सय जना सुरक्षाकर्मीहरु परिचालित छन्। त्रिशुलीमा खसेका दुबै बसमा गरेर ६५ यात्रु थिए। तीमध्ये ३ जना पौडिएर बाँच्न सफल भएका थिए।