नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग लामो प्रतीक्षापछि आज उद्घाटन गरिदै

HTV Khabar १० श्रावण २०८३, सोमबार ०८:३० मा प्रकाशित

काठमाडौं,  नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज सोमवार औपचारिक रूपमा उद्घाटन गरिँदैछ।

निर्माण सुरु भएको करिब ८० महिनापछि सञ्चालनमा आउन लागेको यो सुरुङमार्गलाई नेपालको भौतिक पूर्वाधार विकासमा नयाँ अध्यायका रूपमा हेरिएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा.तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागेका हुन्।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै सवारी साधनका लागि खुला गरिने छैन। सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सञ्चालन गर्न दिइनेछ।

करिब तीन महिनासम्म परीक्षणकाल (ट्रायल ओपनिङ पिरियड) सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकनपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ।