काठमाडौं, नेशनल डाइनामिक आर्ट्स (एनडिए) को आयोजनामा सम्पन्न भएको “एनडिए डान्स आइडल–२०८३” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नेशनल डाइनामिक आर्ट्सका अध्यक्ष देवराज गुरुङको सभापतित्व तथा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शम्भु शाहीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नृत्य प्रतिभा प्रदर्शनसँगै विभिन्न विधाका नृत्यकर्मी तथा योगदानकर्ताहरूलाई सम्मान प्रदान गरिएको थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सदस्यद्वय छिरिङ लामा र बाबू सेञ्चुरी रहनुभएको थियो।
जुनियरतर्फको प्रतिस्पर्धामा अदिती भट्टराई प्रथम, आसिका लिम्बू द्वितीय, कृदिशा पराजुली तृतीय, रोमन घोरासैनी चतुर्थ तथा ज्यास्मिन मगर पाँचौं स्थान हासिल गर्न सफल भए भने सरिना बि.क. सान्त्वना पुरस्कारबाट सम्मानित भइन्।
त्यसैगरी सिनियरतर्फ यान्ना श्रेष्ठ प्रथम, प्रियान्सु थापा द्वितीय तथा क्यारोल परियार तृतीय भए। अदिती वालिङ राई र प्रीन्सा सुनुवार संयुक्त रूपमा चतुर्थ तथा स्वयस अधिकारी र पूजा बस्नेत संयुक्त रूपमा पाँचौं स्थानमा रहँदा प्रयुषा अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरिन्।
प्रतियोगिताका विजेताहरूलाई मेडल, ट्रफी, प्रमाणपत्र, बुकी फूल तथा छात्रवृत्ति प्रदान गरिएको थियो। प्रथम स्थान हासिल गर्ने प्रतियोगीलाई तीन महिनाको, द्वितीयलाई दुई महिनाको तथा तृतीयलाई एक महिनाको निःशुल्क छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा एनडिए डान्स स्टुडियोमा प्रशिक्षणरत विद्यार्थी आकृति श्रेष्ठकी अभिभावक आरती श्रेष्ठलाई “उत्कृष्ट अभिभावकीय योगदान सम्मान–२०८३” प्रदान गरिएको थियो। आफ्नी छोरीलाई करिब पाँच वर्षदेखि निरन्तर रूपमा नृत्य कक्षामा सहभागी गराई अनुकरणीय अभिभावकीय जिम्मेवारी निर्वाह गरेको योगदान कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
त्यसैगरी वरिष्ठ नृत्य निर्देशक प्रदिप रमण सिं डङ्गोललाई “दीर्घ नृत्य साधना सम्मान–२०८३”, लेट्स डान्स रियालिटी शोका निर्देशक तथा वरिष्ठ नृत्य निर्देशक राज श्रेष्ठलाई “विशिष्ट नृत्य निर्देशक सम्मान–२०८३” तथा वरिष्ठ नृत्य निर्देशक अजय कुमार बिष्टलाई “दीर्घ नृत्य निर्देशक सम्मान–२०८३” द्वारा सम्मानित गरिएको थियो।
एनडिए डान्स स्टुडियोका प्रशिक्षार्थी यान्ना श्रेष्ठ, पूजा बस्नेत र प्रियान्सु थापालाई प्रशिक्षण अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न नृत्य प्रतियोगिताहरूमा सहभागी भई सफलता हासिल गरेकोमा बधाईपत्र प्रदान गरी सम्मान गरिएको थियो।
सम्मानित व्यक्तिहरूलाई प्रमुख अतिथि शम्भु शाही, सभापति देवराज गुरुङ तथा एनडिए नृत्य विभाग प्रमुख लक्ष्मी पुरी गुरुङद्वारा सम्मान तथा बधाई प्रदान गरिएको थियो।
कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय उपाध्यक्ष केशब कोइराला, सचिव कृष्ण रसाल, निवर्तमान केन्द्रीय सदस्य बुद्ध लामा, बागमती प्रदेश सचिव रमेश बुढाथोकी, गोकर्णेश्वर नगर कमिटीका सहकोषाध्यक्ष सन्देश तामाङ, एचटिभी खबरका सविन पन्त 'पृथक' विकास भारती, सरोज भारती तथा मिसिता शेर्पालगायतको उपस्थिति रहेको थियो।
यस अवसरमा कार्यक्रम सञ्चालक चुडामणि फुयाल, विशेष सहयोगी सुजन भण्डारी, नृत्य प्रशिक्षक हेमराज गजमेर, बिपिन तामाङ, गायक तथा सङ्गीतकार अनिल तामाङ, शिक्षाकर्मी प्रज्वलराज ढकाल तथा आरुसी सुनुवारलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमले नवप्रतिभाहरूको क्षमता अभिवृद्धि गर्नुका साथै नृत्य क्षेत्रको विकास, प्रवर्द्धन र योगदानकर्ताहरूको सम्मानमा महत्वपूर्ण भूमिका खेलेको आयोजक नेशनल डाइनामिक आर्ट्सले जनाएको छ।